नेपालको सार्वजानिक खरिद प्रक्रिया

सार्वजानिक खरिद सम्बन्धी कार्यविधी, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वासनीय बनाउन, सार्वजानिक खरिद प्रक्रियामा प्रतिश्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहिता र विश्वासनीयता प्रबद्धन गरी मितव्ययी तथा विवेकपूर्ण ढङ्गबाट सार्वजानिक खर्चको अधिकतम प्रतिफल हाँसिल गर्न र सार्वजानिक निकायले निर्माण कार्य गर्दा गराउँदा, मालसामान, परामर्श सेवा तथा अन्य सेवा खरिद गर्दा त्यस्तो खरिदको व्यवस्थापन क्षमता अभिवृद्धी गरी उत्पादक, विक्रेता, आपुर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकलाई विना भेदभाव सार्वजानिक खरिद प्रक्रियामा सहभागी हुने समान अवसर सुनिश्चित गरी सुसाशनको प्रत्याभुती गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न बाञ्छनीय भएकोले सार्वजानिक खरिद ऐन बनेको हो ।

सामान्यतया सार्वजानिक सँस्थाले गर्ने खरिदलाई व्यवस्थित गर्नका लागि यो ऐनको जन्म भएको हो । त्यसकारण सार्वजानिक खरिदको बारेमा बुझ्नु भन्दा पहिले सार्वजानिक संस्थाको बारेमा बुझ्नु अत्यन्त जरुरी छ । सरल भाषामा भन्दा सार्वजानिक संस्था भन्नाले नेपाल सरकारको पूर्ण वा आशिंक स्वामित्व वा नियन्त्रण भएको कम्पनी, बैंक, वा समिति, प्रचलित कानुन बमोजिम स्थापना भएका नेपाल सरकारद्धारा स्थापित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद वा यस्तै अन्य प्रकृतिका संस्था, नेपाल सरकारद्धारा संचालित वा नेपाल सरकारको पूर्ण वा आशिंक अनुदान प्राप्त विश्वविद्यालय, महाविद्यालय, विद्यालय, अनुसन्धान केन्द्र र अन्य यस्तै किसिमका प्राज्ञिक वा शैक्षिक संस्था, स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार गठीत स्थानीय तह, नेपाल सरकारको ऋण, अनुदान वा जमानतमा संचालित संस्था, वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजानिक संस्था भनी तोकेको अन्य संस्था भन्ने बुझिन्छ ।

सार्वजानिक खरिद ऐन वि.सं २०६३ मा लागु भएको थियो । समय र परिस्थिती र अन्य विविध कारणले गर्दा यो ऐनमा संसोधन हुँदै आएको छ तर अपेक्षाकृत रुपमा यसले सफलता पाउन भने सकेको छैन । सार्वजानिक खरिद प्रक्रियालाई पारदर्शी, वस्तुनिष्ठ र जवाफदेही बनाउन यो ऐनलाई अझ बढी सरलीकरण र परिमार्जन गर्नुपर्ने आवश्यकता छ । यसले सार्वजानिक खरिद प्रक्रियालाई व्यवस्थित बनाउन खरिद कार्यको जिम्मेवारी र खरिद विधिको स्पष्ट व्याख्या गरेको छ । सार्वजानिक निकायले मालसामान, निर्माण कार्य वा परामर्श सेवा खरिद गर्दा त्यस्तो सेवाको विवरण तयार पार्नुपर्ने, लागत अनुमान तयार गर्नुपर्ने, त्यस्तो लागत अनुमान स्वीकृत गर्नुपर्ने, खरिद योजना तयार गर्नुपर्ने, मौजुदा सूची तयार पानुपर्ने आदि जस्ता व्यवस्था गरेको छ । साथै खरिद कार्यको सम्पूर्ण जिम्मेवारी सार्वजानिक निकायको प्रमुखलाई हुने र प्रमुखले सार्वजानिक खरिद सम्बन्धी अनुभव भएको योग्य कर्मचारी बाट समेत गराउन सक्नेछ । 

सार्वजानिक खरिद ऐनले खरिदलाई सहज र प्रभावकारी बनाउन खरिद विधिको निर्माण समेत गरेको छ । साथै त्यस्ता विधि कति बेला अपनाउनु पर्ने र त्यस्का सबै प्रक्रियाको बारेमा समेत प्रष्ट उल्लेख गरेको छ । सामान्यतया मालसामान खरिद गर्दा बोलपत्र अपनाउनु पर्ने र त्यसरी बोलपत्र आह्वान गर्दा खरिदको जटिलता र मूल्य हेरी पूर्वयोग्यता निर्धारण गर्नुपर्ने जस्ता नितिगत व्यवस्था समेत यस ऐनले गरेको छ । वोलपत्र आह्वान गर्दा राष्ट्रिय बोलपत्रदाता लाई प्रथामिकता दिनुपर्ने र यदी वोलपत्र आह्वान गर्दा एक मात्र बोलपत्रदाता भएको वा कुनै अन्तराष्ट्रिय सम्झौता भएकोमा अन्तराष्ट्रिय स्तरमा समेत बोलपत्र आह्वान गर्नुपर्ने व्यवस्था पनि यसै ऐनमा छ । 

यसरी वोलपत्रदाता बाट बोलपत्र प्राप्त भएपछि कारबाही गर्ने र न्युनतम अङ्क बोलकबोल गर्ने बोलपत्रदाताबाट मालसामान खरिद वा निर्माण कार्य गर्नुपर्ने व्यवस्था छ । तर त्यसरी न्युनतम बोलपत्रदाताबाट मालसामान खरिद वा निर्माण कार्य गराउँदा कार्यको गुणस्तरता भने घटेर गएको देखिन्छ । न्युनतम अङ्क बोलकबोल गर्ने बोलपत्रदातालाई टेन्डर दिँदा राम्रो कार्य गर्न सक्ने वोलपत्रदाता पछि पर्न गएको छ । यसले गर्दा खरिद कार्य गर्दा न्युनतममा कार्य गर्ने बोलपत्रदाता र उक्त वोलपत्रदाताको पुरानो कार्यको अवस्था, हालको गुणस्तर लगायतका कुरामा समेत ध्यान दिनुपर्ने देखिन्छ ।

सार्वजानिक निकायको खरिद प्रक्रिया लामो र झन्झटिलो पनि छ । कुनै मालसमान वा निर्माण कार्य गर्दा बोलपत्र आह्वान गर्नुपर्ने, बोलपत्रको प्राप्ती पश्चात बोलपत्रको योग्यता जाँच गरी बोलपत्र खोल्नुपर्ने, आर्थिक र प्राविधिक प्रस्तावको अङ्क जोडी बोलपत्रदाता छनौट गर्नुपर्ने, कार्यसम्पादन जमानत लिने र अन्य निकायलाई जानकारी दिनुपर्ने जस्ता नीतिगत झन्झटले गर्दा सार्वजानिक खरिदमा प्रभाव पर्ने देखिन्छ । जति धेरै प्रक्रिया त्यती धेरै भ्रष्टाचारको सम्भावना समेत भएकोले त्यस्तो संवेदनशील प्रणालीलाई जति सक्दो छिटो सरलीकृत गर्नुपर्ने देखिन्छ