बासेल १ (Basel 1)

 जमर्नीमा ‘व्यान्खाउस हरस्ट्याट’ बैंकले अत्यन्तै उच्च जोखिम उठाएर बिदेशी बिनिमय सम्बन्धि कारोवार गरिरहेको थियो । कारोवारको सिलसिलामा आफ्नो पुँजीको तीन गुणाभन्दा बढिको जोखिम उठाइ सकेको थियो ।

 
बैंक नियमन निकायले यो कुरा थाहा पायो । र, यस्ता क्रियाकलापले बैकिङ क्षेत्रमा ठूलो जोखिम निम्तिने ठानेर २६ जुन १९७४ का दिन त्यो बैंक बन्द गर्ने निर्णय गर्यो ।
 
बैंक बन्द भएपछि त्यससँग बिदेशी बिनिमय कारोवार गरेका अन्य बैंकले भुक्तानी पाएनन् । जुन जोखिमलाई आज पनि बैंकिङ क्षेत्रमा हरस्ट्याट (सेट्टलमेण्ट रिस्क) जोखिम भन्ने गरिन्छ । ‘ब्रेटन उड्स सिस्टम्’ हटेकाले यो बैंक असफल हुन पुगेको ठानिन्छ ।
   
के हो ब्रेटन उड्स सिस्टम् ?
सन् १९४४ को जुलाईमा ४४ देशका प्रतिनिधि ब्रेटन उड्समा मौद्रिक तथा बित्तीय सम्मेलनमा भाग लिन जम्मा भए, जसलाई ब्रेटन उड्स सम्मेलन नाम दिइएको थियो ।
 
उक्त सम्मेलनले ‘इन्टरनेश्नल मनेटरी फण्ड’ (आईएमएफ) र  ‘इन्टरनेश्नल बैंक फर रिकन्सट्रक्सन एण्ड डेभ्लपमेण्ट’ को स्थापना गर्ने निर्णय गर्यो ।
 
त्यस्तैगरी, ती देशमा सुन र अमेरिकी (युएस) डलरमा आधारित स्थीर मुद्रा बिनिमय प्रणाली लागू गर्ने निर्णय पनि गर्यो । १ औन्स सुन बराबर ३५ यूएस डलर कायम गरिएको थियो । १ ट्रोय औन्समा ३१.१०३५ ग्राम हुन्छ ।

आईएमएफलाई भुक्तानी असुन्तलन आएमा हस्तक्षेप गर्नका लागि अधिकार दिइएको थियो । यहि स्थीर मुद्रा बिनिमय प्रणालीलाई ‘ब्रेटन उड्स सिस्टम’ भनिन्छ ।

यसपछि युएस डलरलाई सबैले संचित मुद्राका रुपमा लिन थाले । यूएस डलरको अधिमूल्यांकन भएकाले यसलाई सच्याउनु पर्छ भन्ने अमेरिकाले ठान्यो । त्यसैले १९७१ मा राष्ट्रपति निक्सनले सुन सँगको परिवत्र्यतालाई अस्थायी रुपमा हटाए ।

अन्य केहि प्रमुख देशहरुले पनि बिस्तारै स्थिर प्रणालीलाई तोडे । र, १९७३ मा ब्रेटन उड्स सिस्टम् नै हट्यो ।  ब्रेटन उड्स सिस्टमको आडमा ढुक्क भएर जोखिम उठाउदै कारोवार गरिरहेको हरस्ट्याट बैंक बन्द हुन पुग्यो । र, अन्य धेरैलाई यस्को असर पर्यो । यस घटनाले जी–१० राष्ट्रका केन्द्रिय बैंकका गभर्नरहरुलाई सुधारात्मक कदम चाल्नका लागि घच्घच्यायो ।

बासेल कमिटी अन् बैकिङ सुपरभिजन
हरस्याट घटना पछि जी–१० राष्ट्रका केन्द्रिय बैंकका गभर्नरहरु बासेलमा जम्मा भए । पुँजीका तुलनामा अत्यधिक जोखिम उठाएकाले हरस्ट्याट घटना घटेको निचोड निकाले ।
 
यस्ता घटनाबाट बैकिङ क्षेत्रलाई  जोगाउन नियमन र सुपरिवेक्षण अझ प्रभावकारी तरिकाले गर्नुपर्ने निचोड समेत निकाले । र, त्यसका लागि सन् १९७४ मा एउटा समिति पनि गठन गरे ।

बासेल स्वीटजरल्याण्डको जनसंख्याको दृष्टिकोणले तेस्रो ठूलो शहरको नाम हो । यो फ्रान्स र जमर्नीको सीमा नजिकै अबस्थित छ ।

विश्वभर सुपरिवेक्षण क्षमता र गुणस्तर बढाइ बित्तीय स्थिरता कायम गर्ने उद्देश्यकासाथ उक्त समितिको गठन गरिएको थियो । बासेलमा बैठक बसेकाले पछि यस समितिलाई ‘बासेल कमिटी अन बैकिङ्  सुपरभिजन’ भनेर नामाकरण गरियो ।
बासेल – १
बासेल समिति गठन भएपछि विश्वभर वित्तीय स्थिरता कायम गर्ने प्रयास भयो । तर, बैंकिङ क्षेत्रमा भने जोखिम झन् बढ्दै गयो ।

यसैबीच सन् १९८० को दशकतिर ल्याटिन अमेरिकामा कर्जा संकट आयो । पुँजी अपर्याप्त भएकाले यस्ता घटना बढेको निचोड बासेल समितिले निकाल्यो । त्यसैले, यस्ता जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुँजी गणना विधि उल्लेख गरिएको परामर्श पत्र सन् १९८७ मा उक्त समितिले प्रकाशन गर्यो ।

सन् १९८८ मा ‘जी – १०’ का गभर्नरहरुले उक्त परामर्शपत्रलाई स्वीकृत गरे । र, त्यसलाई ‘बासेल क्यापिटल एकर्ड १९८८’ नामाकरण गरी प्रकाशित गरे ।

यस परामर्शपत्रमा जोखिम भारित सम्पत्तिका आधारमा कम्तीमा ८ प्रतिशत जम्मापुँजी कोष हुनुपर्ने उल्लेख गरिएको थियो । यसैलाई ‘बासेल–१’ भन्ने गरिन्छ ।
 
१९८८ एकर्डलाई पटक पटक शंसोधन गरियो । सन् १९९६ मा शंसोधन गर्दा बजार जोखिमलाई  समेत समेटियो । बजार जोखिम गणना गर्दा भार (भ्यालु एट रिस्क) का आधारमा पुँजी कायम गर्नुपर्ने नयाँ व्यवस्थासमेत उल्लेख गरियो ।


बियरिङ् बैंकको असफलता
लण्डन स्थित ‘बियरिङ्’ बैंक सिंगापुरमा पनि संचालित थियो । तर, दुर्भाग्य १९९५ को फेब्रुअरीमा यो बन्द हुन पुग्यो । निक्लिसन भन्ने एउटा कर्मचारीको गल्तीले बैंक बन्द गर्नुपर्ने अबस्थामा पुगेको थियो ।
 
जोखिम व्यवस्थापनका दृष्टिकोणबाट लेखांकन र हिसाब मिलान गर्ने जिम्मेवारी एकै कर्मचारीलाई दिइदैन । तर, निक्लिसनलाई दुबै जिम्मेवारी दिइएको थियो ।
 
आफुलाई प्राप्त त्यो अधिकारको दुरुपयोग गर्दै निक्लिसनले फ्युचर मार्केटमा खेल्न थाल्यो । ती कारोवारबाट घाटा हुंदै गयो । तर, घाटा देखाएमा व्यवस्थापनले नराम्रो दृष्टिकोणले हेर्छ भन्ने उस्ले ठान्यो ।

त्यसैले, ‘८८८८८’ नम्बरको ‘इरर्’’ खाता खोलि घाटालाई नाफा देखाइ मुख्य कार्यालय लण्डनलाई रिर्पोट गर्न थाल्यो । लण्डन कार्यालयबाट राम्रो काम गरेको भन्दै प्रशंसा समेत पायो ।

तर, यो खेल धेरै दिन लुक्न सकेन । यसैबीच  ‘कोबे भूकम्प’ गयो । जस्ले गर्दा एशियाको बित्तीय अवस्थामा संकट आयो । यतिबेलासम्म बियरिङ् बैंक सिंगापुरले १ अरब ४० करोड अमेरिकी डलर घाटा खाइसकेको थियो । यो घाटा पुँजीको तुलनामा दुई गुना वढी थियो । त्यहि घटनाले बैंकलाई बन्द समेत गरायो ।